काठमाडौं । एनसेलमा भ्वाइस र डेटा सेवा साटफेर गर्न सकिने भएको छ ।
ग्राहकले यो नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यस सुविधा अन्तर्गत ग्राहकले सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
सधैं अनमा ग्राहकले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिनेछ ।
यो सुविधा सधैं अनका ३ सय ९९, ४ सय ९९ र ५ सय ९९ रुपैयाँका प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’ मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्ने कम्पनीले जनाएको छ ।
उदाहरणका लागि ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सकिन्छ । त्यसैगरी १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सकिन्छ ।
आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवालाई आवश्यक अनुसार साट्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्नेछन् ।