हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् । आँप कोसेली पुर्याउने चलन छ । सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिने वा पठाइने परिपाटी पनि विद्यमान छ । ‘आँप पाकेकै बेला पारेर कोही मरिदेओस्, अनि मलामी जान पाइयोस्’ भन्ने एकसाथ मिठासपूर्ण र विसंगतिपूर्ण अभिव्यक्ति चाहिं सित्तिमिति भेटिंदैन ।
यो भेगीय बोलीले आँपको रसमा दूध र चिनी मिलाएर बनाइने ‘मेङ्गो शेक’ पिइरहेका सहरवासीलाई मात्रै होइन, रैथाने बीउबिजन एवं माटो संरक्षणमा बोलिरहने सम्पूर्ण संरक्षणकर्मीहरूलाई हच्काउँछ । ‘आच्या, कुनै आँप यति मीठो पनि हुन्छ र भन्या ?’ भन्ने भावाभिव्यक्ति निकालेरै छाड्छ । र, हामी आज त्यही आँपको किस्सा सुनाउँदैछौं ।
नेपालमा जेठको सुरुदेखि भदौ महिनाको अन्तिमसम्म आँपको सिजन हो । वसन्त ऋतु (चैत र वैशाख)भर मुजुरा हाल्ने र चुकिन (अमिलोपन) थाल्ने आँपहरूले आकार लिंदै ग्रीष्म (जेठ असार) लागेसँगै छिप्पिन र सुगन्धसहित स्वादपूर्ण देखिन थाल्छन् । अनि त्यसपछि ऋतुहरूको राजा ‘वसन्त’, फलफूलको राजा आँपलाई आफ्नो सौन्दर्य सुम्पिएर लापता हुन्छन् ।
धादिङ र गोरखाको कम्मरमा काउकुती लगाएर बगिरहेकी बूढीगण्डकी नदी तरेर हामीलाई गोरखास्थित शहीदलखन-९ मा रहेको ऐतिहासिक एवं धार्मिक भीमवीरेश्वर मन्दिर (सत्तल) जानु थियो । जाँदै गर्दा हपक्क गर्मीमा शीतल बतास दिइरहेका, चराहरू बोलाएर हाम्रा कानलाई सुमधुर बनाइदिने विशाल डेढ दर्जन बढी आँपका वृक्षहरूसँग हाम्रो जम्काभेट भयो ।