नयाँ व्यवसाय सुरु गर्न पूँजीको आवश्यकता पर्दछ । कति पूँजी आवश्यक पर्छ भन्ने कुरा कस्तो र कुन आकारको (कत्रो) व्यवसाय गर्ने भन्नेमा भर पर्दछ । त्यस्तो पूँजीको स्रोत भनेको आफूसँग भएको नगद र बाँकी ऋण नै हो । व्यवसायको योजना गर्दा लगानी गर्ने पैसा कति चाहिन्छ ? थाहा हुन्छ । त्यसको आधारमा आफैसँग कति छ र कति ऋण लिनुपर्ने हा,े त्यसको लोखाजोखा गर्नु पर्दछ । व्यवसाय गर्दा यति आफूसँग पहिल्यै हुनुपर्छ अनि यति ऋण नै लिनु पर्छ भन्ने छैन । त्यो आफ्नो अवस्थाको कुरा हो ।
आफूसँग चाहिनेजति पैसा भएपछिमात्र व्यवसाय गर्छु भन्दा धेरै समय पर्खनु पर्ने हुन सक्छ । सबै ऋणको पैसालेमात्र गर्दा ऋण नै नपाइने वा चुनौति धेरै आउने हुन सक्दछ । अर्थात कुनै परिस्थितिले व्यवसाय बिग्रियो भने ऋणको किस्ता तिर्न गाह्रो हुन्छ । त्यसले झन् ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले व्यवसाय सुरु गर्दा सामान्यतया जम्मा लगानीको आधा जति पैसा आँफैसँग हुनु र आधा जति ऋणको भर गर्नु सबै हिसाबले राम्रो मानिन्छ ।
ऋणका स्रोतहरु विभिन्न हुन्छन् । जहाँबाट ऋण पाइन्छ वा लिइन्छ ती ऋणका स्रोत हुन् । बैंकहरु, लघुवित्त वित्तीय संस्थाहरु, सहकारीहरु, साथीहरु, नातागोता, साहूमहाजन आदि आवश्यक परेको बेला ऋण लिने स्रोतहरु हुन् । व्यवसाय सञ्चालन गर्नको लागि पनि तिनैबाट ऋण लिन सकिन्छ । तर, ऋण लिँदा सरकारबाट पैसाको कारोबार गर्ने अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट लिनु राम्रो हुन्छ । साथीहरु, आफन्त, साहूमहाजन आदिबाट लिने हो भनेपनि ऋण लिएको मिति, रकम, व्याज आदिका शर्तहरु र लिने दिने तथा साक्षीहरुको हस्ताक्षर आदि दुरुस्त उल्लेख हुनु पर्दछ ।
समय–समयमा केही गैरसहकारी संस्थाहरु, सरकार तथा स्थानीय निकायहरुबाट तोकिएका व्यवसायहरु, (जस्तैः कृषिमा आधारित, लघु, घरेलु आदि उद्यम व्यवसायहरु) र तोकिएका वर्ग (जस्तैः विपन्न वर्ग तथा महिला आदि) तथा उमेर (जस्तै : युवा) आदिका लागि अनुदान तथा सहुलियत व्याजदरका ऋणहरु पाउन सकिन्छ । त्यसका लागि आवश्यक सूचनाहरु लिइरहनु पर्दछ । ऋण त्यसै हचुवाको भरमा लिन हुँदैन । त्यसका लागि केही आवश्यक कुराहरुमा विशेष ध्यान दिनु पर्दछ ।
जस्तै : ऋणको योजना गर्दा र ऋण लिँदा परिवारका सदस्यसँग छलफल गर्नु पर्दछ ।
आाफ्नो व्यावसायिक योजनाको आधारमा कति ऋण आवश्यक पर्ने हो, त्यतिमात्र लिनु पर्दछ । पाइन्छ भन्दैमा धेरै लिन हुँदैन ।
ऋण लिँदा किस्ता, व्याज, सेवा शुल्क आदि शर्तहरुको बारेमा स्पष्ट हुनुपर्दछ ।
ऋणको किस्ता तिर्ने उपायहरु के–के हुन सक्दछन्, त्यसको बारेमा पहिल्यै विशेष ख्याल गर्नुपर्दछ ।
ऋण लिएपछि त्यसलाई तोकिएकै व्यवसायमा लगानी गर्नुपर्दछ र मिहिनेतपूर्वक काम गर्नु पर्दछ ।
नेपाल सरकारले हाल सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको छ । कार्यविधिको परिच्छेद २ दफा ३ मा बैंक तथा वित्तीय संस्थाहरुबाट दिइने विभिन्न किसिमका सहुलियतपूर्ण कर्जाको उल्लेख गरेको छ ।
जुन यसप्रकार छन् :
क) व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा,रु. पाँच करोडसम्म
ख) शिक्षित युवा स्वरोजगार कर्जा, रु. सात लाखसम्म
ग) विदेशबाट फर्केका युवा परियोजना कर्जा, रु. दश लाखसम्म
घ) महिला उद्यमशील कर्जा, रु. पन्ध्र लाखसम्म
ङ) दलित समुदाय व्यवसाय विकास कर्जा, रु दश लाख सम्म
च) उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, रु. पाँच लाखसम्म
यी सबै कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको हुनेछ । किस्ता भुक्तानी अवधि बैंक तथा वित्तीय संस्थाले व्यवसायको प्रकृति हेरी तोक्नेछ । सहकारीमार्फत पनि व्यवसाय संचालनका लागि सहुलियत ऋणहरु पाउन सकिन्छ । त्यस्तो अनुदानका लागि सहकारी विभागले समय समयमा सूचना जारी गरी अनुदानका लागि आह्वान गर्दछ र त्यसबारे आफूले जानकारी लिइहनु पर्दछ ।