आफन्त दिदी लामो दूरीको यात्रा गर्नुभन्दा एक दिनअगाडिदेखि पानी र खाना खानछाड्नुहुन्थ्यो। मैले धेरैपटक यो किन गरेको भन्दा उहाँ मुन्टो मात्र हल्लाउनुहुन्थ्यो।
सानोमा मेरो जिज्ञासाको उत्तर पाउन सकिन। पछि खानेपानी तथा सरसफाइसम्बन्धी काम गर्ने सिलसिलामा महिलाहरूसँग कुरा गर्ने मौका मिल्यो। उहाँहरूको समस्या पनि मेरो आफन्त दिदीको जस्तै थियो। उहाँहरूले लामो दूरीको यात्रामा शौचादि आयो भने शौचालय नपाइने डर र पुरुष जस्तो खुला रूपमा शौच गर्न लाज लाग्ने कारण अघिल्लो दिनदेखि पानी र खाना नखाएको भन्नुहुन्थ्यो। सामान्य शौचको अभावमा यात्रा गर्न बन्द गर्नुपर्ने, यात्रा गर्ने दिनभन्दा अघिल्लो दिनदेखि पानी र खाना खान छाड्नुपर्ने अवस्था आउनुले शौचालयको अभावले कति धेरै महिलाले चाहँदा चाहँदै पनि यात्रा बन्द गर्नुभयो होला ? भने यात्रा गरिहाल्नु परे कति बढी मानसिक तनाव भए होला ?
मानव, घरपरिवार, समुदाय र राष्ट्रको पहिचान नै त्यहाँ हुने सरसफाइको अवस्थाले मापन गर्न थालिएको छ। जसको कारण सरसफाइलाई समाजको ऐना पनि भन्ने चलन छ। यही सरसफाइको पहिलो कडीका रूपमा चर्पीको उपलब्धता र यसको अवस्थाले जनाउने गरेको छ। नेपालमा सन् १९८० सम्म शौचालयबारे त्यति बढी चर्चा हुँदैनथ्यो। सन् १९८० देखि १९९० को दशकलाई अन्तर्राष्ट्रिय खानेपानी तथा सरसफाइ शताब्दीका रूपमा मनाइयो जसबाट नेपालमा घर घरमा शौचालय निर्माणको अभियान सञ्चालन भयो।
यो अभियानअन्तर्गत सन् १९९० आउँदा ६ प्रतिशत जनसंख्यामा शौचालयको पहुँच थियो भने सन् २००९ सम्म आइपुग्दा ४३ प्रतिशत जनसंख्यामा मात्र चर्पीको पहुँच थियो। सन् २००६ सम्म पनि नेपालमा पाँच वर्षभन्दा मुनिका वर्षमा १२ हजार सात सय बालबालिकाको खानेपानी र सरसफाइजन्य रोगका कारण मृत्यु हुन्थ्यो भने व्यवस्थित खानेपानी र सरसफाइ अभावका कारण प्रतिवर्ष नेपाल सरकारले १० अर्ब क्षति भोग्नुपरेको अनुमान गरिन्थ्यो।
सन् २०१० मा नेपाल सरकारको अगुवाइमा सरसफाइ गुरुयोजना निर्माण भयो। जसको फलस्वरूप नेपालमा शौचालय निर्माणको क्रमलाई तीव्रतासँगै सन् २०१९ मा नेपाल खुला दिसा मुक्त राष्ट्र नै घोषणा गर्न सफल भयो।
जनगणना २०७८ अनुसार नेपालमा ९५.५ प्रतिशत घरधुरीमा चर्पी भएको र ४.५ प्रतिशत, भनौँ तीन लाखभन्दा बढी घरपरिवार अहिले पनि खुलारूपमा शौच गर्ने देखिन्छन्। खुला दिसामुक्त क्षेत्र घोषणासम्म जस्तो भए पनि जसरी भए पनि ‘एक घर: एक चर्पी’ भन्ने अभियान चलाइयो। तर त्यो अवधिमा आमसर्वसाधरणलाई शौचालयको अवस्था, यसको मर्मत सम्भार, स्वीकार्यता र यसको मानव र वातावरण स्वास्थ्यसँगको अन्तरसम्बन्धबारे जुन तहमा पैरवी र जनचेतना जगाउनुपर्ने थियो त्यो नभएको देखियो। जसको पुष्टि अहिले पनि नेपालमा करिब १४ लाख नेपालीले खुलारूपमा शौच गर्ने र शौचजन्य लेदो सिधै खोला, खोल्सा र नदीमा विर्सजन गर्नुले पुष्टि गर्छ।
यद्यपि सन् २०१० देखि २०१९ को अवधिमा खुलारूपमा शौच गर्ने अधिकांश नेपालीलाई घर घरमा चर्पी निर्माण किन गर्नुपर्छ भन्ने विषयमा सरसफाइमा लाग्ने अभियन्ता र राजनीतिक दलले ठूलै कसरत गर्नुभयो। एक घर, एक शौचालयमा ध्यान केन्द्रित हुँदा सार्वजनिक स्थलमा, संस्थागत, निजी सेवा प्रदायकहरूबाट शौचालय कस्तो बनाउने भन्ने बहस हुन सकेन। खुला दिसामुक्त चरणपश्चात पूर्ण सरसफाइका गतिविधिहरू तत्काल सुरु गर्ने भनिए पनि पूर्ण सरसफाइका गतिविधि राम्रोसँग सञ्चालन हुन सकेनन्।
विदेशमा यात्रा गर्दा र नेपालमा ठूला ठूला होटेलमा भ्रमण गर्दा शौचालयको बनावटले मन आकर्षित गर्छ। शौच गर्ने स्थानलाई रेस्ट रुम भनिएको छ। एक स्वस्थ मानिस पनि दिनमा पटक–पटक शौच गर्न जानुपर्ने हुन्छ। अझ शौचमा समय लगाउनेहरूले पुस्तक, पत्रपत्रिका पढ्ने, शौच कक्षमा रहेको ऐना हेरेर बोल्ने कलाको विकास गर्ने जस्ता गतिविधि गरेका पनि पाइयो। भारतका अभिनेता शाहरूख खानले एक कार्यक्रममा बिहान शौच गर्ने बेलामा पुस्तक पढ्ने बानी भएको बताएका थिए।
नेपालमा सार्वजनिक र निजी शौचालय कस्तो, कहाँ हुने भनेर बहसहरू सिर्जना गर्न थालेको पनि दशकौँ भइसकेको छ। घरायसीरूपमा बनाइने शौचालयहरूका फोहरले अरूलाई असर नगर्ने गरेर जसरी बनाउँदा पनि छूट होला। तर संस्थागत, सरकारी वा निजी सेवा प्रदायकहरू र व्यावसायिक स्थानहरू जहाँ सर्वसाधारणको उपस्थिति हुन्छ, ती स्थानमा बन्ने शौचालय कस्ता हुने भनेर मापदण्ड हुनु जरुरी छ।
हाल नेपालमा उपलब्ध अधिकांश शौचालयमा धेरै प्रश्न गर्ने ठाउँ छन्। नेपालको संविधानलाई आधार मान्ने हो भने सरसफाइ मानव अधिकार हो। जसअनुसार निर्माण हुने घरायसी वा सार्वजनिक सौचालयहरूमा पर्याप्तता, पहुँचयोग्यता, गुणस्तरीय, आर्थिक रूपले किन्न सक्ने, स्वीर्कायता, अभेद र सूचना जस्ता कुरा सुनिश्चित भएको हुनुपर्छ।
संसारभर ३.५ अर्ब मानिसमा सुरक्षित सरसफाइको पहुँच छैन भने ४१९ मिलियन मानिस अझै पनि खुलारूपमा शौच गर्न बाध्य छन्। खानेपानी तथा सरफाइलाई मानव अधिकारका रूपमा संयुक्त राष्ट्रसंघले घोषणा गरेपश्चात संसारभरका प्रत्येक नागरिकले सुरक्षित सरसफाइ पाउनु उसको अधिकार हो। यसको सुरुवात विन्दु भनेको शौचालय निर्माणबाट हुने गर्छ। व्यवस्थित शौचालय निर्माण गर्दा यसले दिने मानसिक शान्ति, स्वास्थ र वातावरणमा पार्ने सकारात्मक प्रभावबारे जुनखाले बहस हुनुपर्ने हो त्यो हुन सकेको छैन।