Search

१० घण्टा बन्द गरेर त्रिभुवन विमानस्थलमा के काम गरिँदैछ ?

४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकबाट दैनिक १० घण्टा बन्द छ । करिब ३० प्रतिशत उडान कटौती गरी विमानस्थलमा विभिन्न किसिमका निर्माणका काम भइरहेका छन् ।

त्रिभुवन विमानस्थल विस्तार गुरुयोजना अन्तर्गत धमाधम काम भइरहेको हो । विमानस्थल सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डले जहाज उडान/अवतरण हुने क्षेत्रको ७५ मिटर दूरीभित्र निर्माणको काम गर्न नहुने, निर्माण सामग्री राख्न नहुने र खाल्डाखुल्डी हुनुहुँदैन । सोही दूरीभित्र हुने निर्माण कार्यका लागिमात्र विमानस्थल आगामी चैतसम्म राति १० देखि बिहान ८ बजेसम्म बन्द हुन्छ ।

विमानस्थल गुरुयोजना अन्तर्गत विस्तारको काम तीव्र गतिमा अगाडि बढेको हो । विमानस्थलमा अहिले एक धावनमार्ग र समानान्तर आधा लम्बाइको ‘ट्याक्सी वे’ छ । सोही ट्याक्सी वेलाई जोड्ने पाँच वटा एक्जिट ट्याक्सी वे छन् ।

गुरुयोजना अनुसार अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई भविष्यमा आन्तरिक टर्मिनल भवनमा परिणत गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि नयाँ भवन बनाइने छ ।

यसैलाई आधार मानेर प्राधिकरणले अन्य पूर्वाधारका काम गरिरहेको छ । पहिलो प्याकेजमा उत्तर (बौद्ध) तर्फ अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी वे र एक्जिट ट्याक्सी वेहरू निर्माण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय एप्रोनमा अब १८ वटासम्म जहाज पार्किङ गर्न सकिन्छ । उत्तरतर्फको समानान्तर ट्याक्सी वे र दुइटा कनेक्टिङ ट्याक्सी वे आयोजना अन्तर्गत बनिरहेका छन् ।

दोस्रो प्याकेज अन्तर्गत दक्षिण (कोटेश्वर) तर्फ समानान्तर ट्याक्सी वे बनिरहेको छ । यो आइकाओ मापदण्ड अनुसार बनिरहेको छ । धावनमार्गको केन्द्र रेखा (सेन्टर लाइन) बाट नयाँ समानान्तर ट्याक्सी वेको दूरी १७२.५ मिटर छ ।

अहिले सबै जहाज ट्याक्सी वे ‘इको’ बाट धावनमार्ग प्रवेश गरेर ‘टेक अफ’ (उड्न) का लागि प्रस्थान गर्छन् । त्यसका लागि करिब ४/५ मिनेटको समय लाग्ने गरेको छ ।

नयाँ समानान्तर ट्याक्सी वे निर्माण भइसकेपछि सबै जहाज समानान्तर ट्याक्सी वेमा लाइनमा रहन्छन् । अहिले ४/५ मिनेट लाग्ने गरेको समयमा अरू त्यति नै जहाज उडान (टेक अफ) र अवतरण (ल्यान्ड) गर्न सक्ने गरी क्षमता विस्तार हुन्छ ।

त्यसैगरी अर्को प्याकेज अन्तर्गत ह्याङ्गर एप्रोन र ट्याक्सी वे निर्माण हुँदैछ । भविष्यमा अन्तर्राष्ट्रिय टर्मिनल बन्ने स्थानमा अहिले अन्य संरचना छन् । जसमा नेपाल एयरलाइन्सर नेपाली सेनाको ह्यांगर छ । त्यसको ठ्याक्कै पारिपट्टि (पूर्वतर्फ) ह्याङ्गर र एप्रोन बनिरहेका छन् ।

नयाँ टर्मिनल भवन नबनेसम्म अहिलेको ट्याक्सी वे चलिरहन्छ । अहिले नयाँ १ हजार २ सय मिटर समानान्तर ट्याक्सी वे निर्माण हुन्छ । उत्तरतर्फ पनि ५ सय मिटर दूरीमा समानान्तर ट्याक्सी वे बन्छ । अहिलेको ट्याक्सी वेको काम जारी रहन्छ ।

ती संरचना बनिसकेपछि अहिले नेपाल एयरलाइन्स र नेपाली सेनाका पूर्वाधार सोही स्थानमा सार्ने तयारी छ । त्यसपछि टर्मिनल भवनका लागि स्थान खाली हुनेछ । विमानस्थलभित्रको पूर्वाधार संवेदनशीलता आधारमा विभिन्न क्षेत्रमा छुट्याइएको हुन्छ ।

विभिन्न तीन प्याकेज अन्तर्गत नयाँ ट्याक्सी वे निर्माण गरी धावनमार्गमै जोड्न थालिएको हो । पूर्वतर्फ समेत यस्तै ट्याक्सी वे निर्माण हुँदैछन् । उत्तरतर्फ समेत धावनमार्ग र ट्याक्सी वे निर्माण हुँदैछ । १० घण्टा बन्दको समयमा ७५ मिटर क्षेत्रमा केन्द्रित भएर काम गरिन्छ । त्योभन्दा बाहिरको क्षेत्रमा भने दिनरात नै काम भइरहेको छ । यो काम अन्तर्गत ७५ मिटरभित्रको काम सम्पन्न भइसकेपछि पनि अन्य काम भने निरन्तर नै भइरहने छ ।

विमानस्थल पूर्वाधार निर्माण गर्दा आइकाओ गाइडलाइन पालना गर्नुपर्छ । त्यो गाइडलाइन अनुसार धावनमार्ग सबैभन्दा सुरक्षित राख्नुपर्छ । निर्माण कार्य र जहाज सञ्चालन एकै पटक गर्न मिल्दैन । ७५ मिटरभित्रको क्षेत्र निकै संवेदनशील मानिन्छ । उक्त क्षेत्रमा उपकरण राख्दा हवाई सुरक्षामा जोखिम निम्त्याउँछ । निर्माण क्रममा खाल्डो खुला राख्न मिल्दैन ।

राती १० घण्टा विमानस्थल बन्द गर्दा भोलिपल्ट बिहानसम्म सबै खाल्डो पुरेर जस्ताको तस्तै बनाउनुपर्छ । त्यसपछि मात्र जहाज सञ्चालन गर्न पाइन्छ । सोहीकारण विमानस्थल बन्द गर्नुपरेको हो ।

ट्याक्सी वे बनाउने क्रममा २/३ मिटरसम्म गहिरो खाल्डो खनिन्छ । त्यसमा तोकिएको मापदण्ड अनुसार निर्माण सामग्री राखेर भर्ने काम हुन्छ । २०/२० सेन्टिमिटरको तह (लेयर) मा सामग्री राखेर खाल्डो भर्दै जानुपर्छ ।

तीन मिटरको खाल्डो एकै रातमा भर्न सम्भव हुन्न । १० घण्टा समयमा आधा मिटर खाल्डोमात्र पुर्न सकिन्छ । बाँकी साढे २ मिटरको खाल्डोमा भोलिपल्ट बिहान जहाज उड्ने समयमा अस्थायी रूपमा पुर्नुपर्छ । जस्ताको तस्तै बनाइएपछि मात्र धावनमार्ग सञ्चालनमा ल्याउन मिल्छ ।

पाँच महिना धावनमार्ग नजिकबाट ७५ मिटरभित्रको स्थानका लागिमात्र हो । काठमाडौं विमानस्थलभित्र निर्माण कार्य एक वर्षदेखि नै निरन्तर भइरहेको छ । दुई वर्षको समयमा सबै काम सक्नुपर्ने लक्ष्य छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न पूर्वाधार निर्माणको नक्सा 

मनसुनको सयममा पानी परेको समयमा माटो, जगमा गर्नुपर्ने काम प्रभावित हुन्छ । सबबेश, बेशसहित लेयर निर्माण गर्दा गुणस्तर पालन गर्न सकिएन भने काम प्रभावित हुन्छ । मनसुनमा असम्भव हुने गर्छ ।

नेपालमा मनसुन लगत्तै दशैं, तिहार, छठजस्ता चाडपर्व पर्छन्, त्यसबेला कामदार पाइँदैन । सोहीकारण यो समय तोकिएको हो । अर्को, मनसुन अगाडि काम गर्न यो काम अगाडि बढेको हो ।

आयोजना सम्पन्न भइसकेपछि विमानस्थलको क्षमता बढ्छ । रनवे ट्याक्सी वे सिस्टमको क्षमता बढ्छ । त्यसैगरी एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई उडान व्यवस्थापनमा सहज हुन्छ । यसले उडान सुरक्षा बढाउँछ । एप्रोन निर्माण भइसकेपछि पार्किङ क्षमता बढ्छ । अहिले पार्किङ नभएर हुने होल्ड गर्नुपर्ने अवस्था कम हुनेछ ।

समानान्तर ट्याक्सी वे बनिसकेपछि रनवे ट्याक्सी वे सिस्टमको क्षमता २० देखि २५ प्रतिशतसम्म बढाउने छ । अहिले धावनमार्ग ३ हजार ३ सय ७४ मिटर लम्बाइ छ । समानान्तार ट्याक्सी वे १ हजार ९ सय मिटर लम्बाइको मात्र छ ।

धावनमार्गको अन्तिमसम्म जोड्ने समानान्तर ट्याक्सी वे नहुँदा रनवे ट्याक्सी वे सिस्टमको क्षमता कम भएको हो । भएको समानान्तर ट्याक्सी वे जुन स्तरको, जुन अकारको छ, त्यो मापदण्ड अनुसारको छैन ।

आइकाओको मापदण्ड अनुसार धावनमार्ग र ट्याक्सी वेको फरक १ सय ७२ मिटरको फरकमा हुनुपर्ने हो । अहिले भने १ सय १० मिटर हाराहारी दूरीमा मात्र छ । अब नयाँ बनाउने १ सय ७२ मिटरकै दूरीमा हुनेछ ।

धावनमार्ग नजिकै ट्याक्सी वे हुँदा ठूलो जहाज धानवमार्गमा छ भने ट्याक्सी वेमा ठूलो जहाज आउन सक्दैन । ट्याक्सी वेमा ठूलो जहाज छ भने धावनमार्गमा ठूलो जहाज उड्न सक्दैन । यो झन्झट भइरहेको छ । नयाँ क्षमता अनुसार ट्याक्सी वे बनाइसकेपछि एक साथ धावनमार्ग र ट्याक्सी वेमा ठूलो जहाज चल्न सक्छ ।

नयाँ टर्मिनल भवन नबनेसम्म अहिलेको ट्याक्सी वे चलिरहन्छ । अहिले नयाँ १ हजार २ सय मिटर समानान्तर ट्याक्सी वे निर्माण हुन्छ । उत्तरतर्फ पनि ५ सय मिटर दूरीमा समानान्तर ट्याक्सी वे बन्छ । अहिलेको ट्याक्सी वेको काम जारी रहन्छ ।

जब नेपाल आयल निगमको डिपो सार्ने काम हुन्छ, त्यसपछि अहिलेको ट्याक्सी वेलाई एप्रोनसँग जोड्न सकिन्छ । यहाँ अहिले पनि एप्रोन छन् । २३ कात्तिकदेखि १८ चैतसम्मको काम समानान्तर ट्याक्सी वे धावनमार्गमा जोड्ने कनेक्सनको काम गरिन्छ ।

धावनमार्गको पूर्वतर्फ तीन वटा ट्याक्सी वे कनेक्सनको काम समेत यसै समयमा हुन्छ । उत्तर पश्चिमतर्फ एक ट्याक्सी वे कनेक्सन तथा पुरानो र नयाँ ट्याक्सी वेमा जोड्ने काम हुनेछ । यसबीच विभिन्न ८ कनेक्सन मार्फत धावनमार्ग र ट्याक्सी वे जोड्ने काम हुनेछ ।

source :- onlinekhabar

Picture of खुल्ला पत्रिका

खुल्ला पत्रिका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।