पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले बताएअनुसार पूर्वराजा सवार विमान ३ बजेर ५२ मिनेटमा अवतरण गरेको हो।
पोखराबाट हिँड्नुअघि समर्थकहरूले विमानस्थलमा उनको बिदाइ गरेका थिए।
पूर्वराजा शाहको स्वागतमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासम्मका नेता विमानस्थल पुगेका थिए।
शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला भएका थिए।
पूर्वराजा सवार गाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिसकेको छ। गाडीबाटै उनले सडक दायाँबायाँ रहेका मानिसहरूलाई हात हल्लाएर अभिवादन गरिरहेका छन्।
प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी गरेका थिए।
विमानस्थलको सुरक्षा संवेदनशीलता स्रोतलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ठूलो सङ्ख्यामा समर्थक तथा शुभेच्छुकहरू स्वागत र्यालीमा सहभागी भइरहेका छन्।
राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्।
केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किएका हुन्।
उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन नदिने हिसाबले सामान्य दिनको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले बताएका हुन्।