Search

आकाश ओढेको डोल्पो

म न साहित्यकार न समीक्षक, मात्र एक जिज्ञासु पाठक । त्यसैले कहिलेकाहीं कुनै पुस्तक पढेपछि मनमा उब्जिएका कुरा लेख्न मन लाग्छ ।

लेखक भवानी खतिवडाको यात्रा वृत्तान्त ‘आकाश ओढेको डोल्पो’ पढेपछि पाठकीय अनुभूति लिपिबद्ध गर्ने जमर्को गरेको छु ।

शायद तीन कारणले मैले यो पुस्तक पढें । पहिलो, अहिलेसम्म डोल्पा पुग्न नपाएकोले क्षतिपूर्तिको रूपमा पुस्तक पढेर भए पनि डोल्पाको यात्रा गरौं भनेर ।

दोस्रो, यात्रा साहित्यमा रुचि छ । यात्रा वृत्तान्त पढ्दा लेखन बारे केही सिकिन्छ कि भन्ने लागेर ।

तेस्रो, पेशाले वनकर्मी र स्वभावले प्रकृतिप्रेमी छु । भ्याएसम्म पदयात्रा र हाइकिङ जाने गर्छु, त्यसैले । पदयात्रा र हाइकिङमा मेरो रुचि जगाउन डा. उमेश श्रेष्ठले नेतृत्व गर्नुभएको प्रकृतिप्रेमी समूहको ठूलो योगदान छ ।

‘आकाश ओढेको डोल्पो’मा अनेक पात्रहरू छन् । प्रारम्भका चार पात्र लेखिका भवानी खतिवडा र उनका सहयात्रीहरू प्रभा बराल, सरस्वती अर्याल, रन्जु दाहालसँग यात्राकै दौरान अनेकौं पात्रहरू थपिंदै, छाडिंदै जान्छन् ।

पेज टर्नरले २०८० मा प्रकाशन गरेको यो पुस्तक १६ खण्डमा विभाजित छ । पहिलो खण्ड ‘बाटो लागेपछि’ जसरी पनि गन्तव्यमा पुग्ने निर्णयपछिको संघर्षको कथा छ । डोल्पाको जुफाल एअरपोर्टको उडान स्थगित हुन्छ । यही रन्कोमा प्रतिकूल मौसमका बीच जसरी भए पनि बसको कठिन यात्रापछि हिंडेर पनि यात्रा पूरा गर्ने हुटहुटी र हिम्मत सहित यात्रा सुरु हुन्छ । अनेक आरोह–अवरोह, घुम्ती, उकाली, ओराली, देउराली, ताल, झरना अनि प्रेम र दःुखको प्रसंगहरू एकपछि अर्को जोडिंदै ‘चिसो रातः मिठो सम्झनामा’ मैजारो भएको छ ।

पुस्तकको समर्पणमा लेखिएको छ- ‘ती साहसिक पदयात्री र तिनका सहयोगीहरूमा जसले यात्राकै सिलसिलामा नेपाली हिमालहरूमा आफ्नो जीवन विसर्जन गरे ।’

आ त्यति त जसले पनि हिंडिहाल्छ नि !

पानीको रंग बदलिरहने शे-फोक्सुन्डो तालको अद्भुत सुन्दरतालाई लेखकले मनोरम शैलीमा वर्णन गरेकी छन्; मुग्ध यात्रामा आजै टिकट काटेर हिंडिहालौं जसरी । यात्रामा घुमेका महत्वपूर्ण ठाउँको ऐतिहासिक र सांस्कृतिक पाटोलाई पनि केलाइएको छ ।

पदयात्रा गर्ने प्रति धेरैको बुझाइ माथि भने जस्तै छ । के काम नपाएर हिंडेको होला ? त्यति मजा त घरमा मन परेका फिल्म हेरेर, खाईपिई गरेर वा यसो घुमघाम गरेर पनि लिन सकिन्छ भन्ने धारणा आम छ । हरेकको आ–आफ्नै रुचि र प्राथमिकता हुन्छ । प्रत्येक फरक बुझाइप्रति फरक मत राख्नु आवश्यक छैन जसले जे देख्छ, भोग्छ, उसले त्यही लेख्छ तर हिमाली क्षेत्रको पदयात्रा गरेपछि मात्र थाहा हुन्छ, यात्राको असली र अर्गानिक आनन्द । पुस्तकमा लेखकले आफूले अनुभूत गरेको त्यो असली अर्गानिक मज्जालाई खुलस्त उजागर गरेकी छन् ।

पहिलो कुरा दुर्गमको यात्रामा हिंड्नु, त्यो पनि चाडबाडको समय अनि वर्षात्, बल्लबल्ल पाक्ने सीमित बिदाको सबै जनासँग घरमै बसी उपयोग नगरी परिवारलाई छाडेर डोल्पा जस्तो दुर्गममा यात्रामा निस्कनु आफैंमा दुस्साहस र रोमाञ्चकताको पराकाष्ठा हो । यात्रा गरिरहनेको लागि समेत यो कठिन यात्रा हो । त्यसमा चार जना महिला, समाजको विद्यमान संस्कारलाई चुनौती दिंदै, घर–व्यवहारका तानाबाना मिलाउँदै हिम्मत जुटाउनु चानचुने कुरा कदाचित होइन ।

केही पहाडी र हिमाली यात्रा गरेको अनुभवको आधारमा म भन्न सक्छु, यस्ता हिमाली स्थानमा वर्षामासको यात्रा ‘आ त्यति त जसले पनि हिंडिहाल्छन् नि’ भने जस्तो सहज पक्कै होइन ।

लेखकले यात्रालाई सरल भाषामा रोचकसँग वर्णन गरेकी छिन् । पाठकलाई डोल्पा र बाटामा पर्ने स्थानहरूमा स्वयम्सँग यात्रा गराउन सक्नु लेखकको सबलता हो । लेखकले पाठकलाई केवल आफूसँग यात्रा मात्र गराएकी छैनन्, देशको अव्यवस्थित सार्वजनिक यातायातको अवस्था र सडकको दुरवस्था पनि औंल्याएकी छिन् । कैयौं चालक, सहचालकको सहृदयी व्यवहारको मुक्तकण्ठले प्रशंसा मात्र गरेकी छैनन्, उनीहरूको नाम नामेसी टिप्न पनि भ्याएकी छिन् भने कतै सुन्दै रिस उठ्ने अमर्यादित व्यवहार र भोगाइहरूलाई जस्ताको त्यस्तै उतारेकी छिन् ।

पेशाप्रतिको इमानदारी

धेरै स्थानमा यात्रामा अल्लारे केटाकेटी देख्दा वा विद्यालय जाने विद्यार्थीहरू देख्दा मातृत्व झल्केको कुरा लेखिएको छ । यसले एउटा आमा जहाँ गए पनि आमाको भूमिकामा नै हुन्छिन् भन्ने मान्यता स्थापित गर्दछ ।

अधिकांश हामी यात्रालाई यात्रा मात्र बनाउँछौं । यात्रामा पनि के आफ्नो पेशाको कुरा गर्नु, त्यो त जागिरमा रहँदा गरिहालिन्छ नि, यस्तो सोच्छौं । तर लेखकले त्यसरी सोचेकी छैनन् । उनले फरक व्यवहार प्रस्तुत गरेकी छन् ।

कृषि प्राविधिक भएको हुनाले यात्राको दौरान बाटामा भेटिएका स्थानहरूमा आफ्नो ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्दै कृषिबाट प्राप्त हुने समृृद्धिको परिकल्पना गरेकी छन् । जस्तैः ड्रागन खेती गर्ने लोकेन्द्र बिष्ट मगरदेखि स्याउ खेती गर्ने किसानलाई आफूले जानेका राय सुझावहरू दिनु । चाउरी परेको स्याउ देख्दा आफ्नो मन पनि चाउरी परेको र पुष्ट स्याउ देख्दा मन पनि पुष्ट भएको कुरा उल्लेख गर्नु ।

अनि स्याउको चाउरी कसरी फुकाउने, ठूलो, गाढा रंग र स्वस्थ कसरी बनाउने भनेर किसानलाई सम्झाउने मात्र होइन किसानकै बारीमा पसेर हाँगा काट्छाँट गर्ने तरिका सिकाउन पनि भ्याएकी छन् ।

कार्तिके वर्षाले किसानको वर्षभरिको मिहिनेतमा गरेको तुषारापात र नोक्सानीमा चिन्ता व्यक्त गरेकी छिन् । यो लेखकको अत्यन्त सकारात्मक पक्ष हो । ढुक्कले के भन्न सकिन्छ भने उनले आफ्नो पेशाप्रति इमानदारी देखाएकी छिन् । हामी निजामती कर्मचारी वा राष्ट्रसेवक, जो राज्य कोषबाट सेवा–सुविधा लिन्छौं, जो जहाँ जुन पेशामा छौं, लेखकबाट सिक्नुपर्ने कुरा, यात्रामा र प्रतिकूल अवस्थामा पनि एउटा राष्ट्रसेवकलाई नथाकीकन काम गर्न कसैले रोक्न सक्दैन । यो सन्देश दिन पनि पुस्तक सफल छ ।

प्रेमिल प्रसंग

पुस्तकमा पहाड, झरना र नदीका कुरा मात्र छैनन्, प्रेमप्रसंग, युवायुवतीका मनका ढुकढुकीलाई पनि लेखकले सहज र सरल ढंगले पस्केकी छन् । यस्तै एउटा युवा जोडी जो एकअर्कालाई प्रेमपूर्वक भेलपुरी भनेर सम्बोधन गर्छन्, उनीहरूको प्रेमिल प्रसंगलाई गज्जबसँग उजागर गरेकी छन् । पछिल्लो समय पदयात्रामा यस्ता जोडी हनिमुनको निम्ति वा विवाहेत्तर जाने क्रम बढेको छ ।

अन्नपूर्ण बेसक्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ यात्रा, मर्दी हिमाल ट्रेक वा अन्य पदयात्रा गन्तव्यलाई नियालेर हेर्‍यो भने युवाहरूका यस्ता जोडीहरू धेरै देखिन्छन् । नेपाली ट्रेकिङका लागि यस्ता जोडीहरू प्रतिनिधि पात्र हुन् र आन्तरिक पर्यटनको लागि भरपर्दो संवाहक ।

लामो यात्रामा हिंड्न चाहने, यात्रा सुरु गर्ने तर बीच बाटैबाट फर्कने यात्रुहरूलाई यस्ता जोडीहरूले उत्प्रेरणा दिने उनले लेखेकी छन् । चुच्चो जोड्ने चरालाई प्रेम प्रतीक र आकर्षक बिम्बको रूपमा वर्णन गरिएको छ । यद्यपि प्रसंग चरासँग सम्बन्धित भए पनि स्वच्छन्द ढंगले जिउने अन्य जंगली जनावरको सन्दर्भमा पनि यो उत्तिकै लागू हुन्छ । हामी वन र वन्यजन्तुको क्षेत्रमा काम गर्नेको लागि त अझ सान्दर्भिक छ ।

पदम बा  अस्मिताको कथा

पदम बा र एकल जीवन गुजारिरहेकी बुहारी अस्मिता पुस्तकमा बिम्बको रूपमा आएका छन् । पदम जस्ता धेरै बाहरू देशमा छन् जो आफ्नो श्रममा विश्वास गर्छन् र आत्मसम्मानपूर्वक बाँच्न चाहन्छन् । पदम बा बिम्ब बनेका छन्- अत्यासलाग्दो बुढेसकालमा आफ्नै पेन्सनमा गुजारा गर्ने, श्रममा विश्वास गर्ने, सबैप्रति दयाभाव र सद्भाव राख्ने मान्छेको ।

यो पुस्तक पढेपछि, त्यहाँ जाने सबैलाई पदम बा कहाँ बास बस्न वा एकछाक खाना मन लाग्छ । यदि म डोल्पा (शे-फोक्सुन्डो) गएँ भने पदम बालाई पक्कै भेट्नेछु । पदम बालाई मात्र हैन, वर्षौं अघि बैगुनी पतिले छाडेका र एउटा सन्तान गुमाएर पनि पतिकै बाटो हेरेर पर्खेकी बुहारी अस्मिताको कथा पनि सुन्नेछु । के अस्मिताको पति फर्क्यो ? अहिले के अस्मिताको जीवनमा हरियाली छायो ? बुझ्ने थिएँ ।

मेरो सिउँदोमा उसको सिन्दुर छ भन्ने सम्झेर वा मन बुझाएर उसैको बाटो हेरेर बसेकी छिन् कि बाह्र वर्षमा खोलो त फर्कन्छ, मन भएको मान्छेको के कुरा भनेर अझै प्रतीक्षा गरेकी छिन्, थाहा गर्ने थिएँ ।

सौता भए पनि सहुँला बरु गाउँ फर्क । तर पदम बालाई बुढेसकालमा यसरी छाडेर जानुहुन्न । पति (पदमको छोरा) त हिंडेहिंडे, मैले पनि छाडे भने यिनको के गति होला ? दुःख बिरामी पर्दा पानी समेत तताएर कसले खान देला ? भनेर अझै सहनशीला सुशीला झैं घर कुरेर बसिरहेकी छन् कि अब यस्तरी पतिव्रता भएर बस्ने होइन, आफ्नो जीवनको निर्णय स्वयम् लिन्छु भनेर नयाँ कदम चालिन् ? त्यो बुझ्ने रुचि जागेको छ । पुस्तकले पाठकलाई पक्कै यस्तै खुल्दुली जगाउनेछ ।

अस्मिताको कथा डोल्पाको मात्र कथा होइन, पूर्वदेखि पश्चिम, तराईदेखि पहाड र हिमालसम्म र देशका सबै बस्तीको कथा हो । हजारौं अस्मिता आफ्नो बैगुनी पतिको बाटो हेर्दै उनका असक्त वृद्ध बा-आमाको र इच्छा/अनिच्छा बेगर जन्माएका सन्तानको पालनपोषणमा आफूलाई समर्पित गरिरहेकी छिन् । अस्मिताको कथामा लेखक मात्र होइन, अन्य सहयात्रीहरू पनि उत्तिकै चिन्तित र आवश्यक परेमा उनको पतिसँगको सम्बन्ध पुनस्र्थापनाकोे लागि सहजीकरण गर्न तयार रहेको देखिन्छन् । योग्य कथाकारको दृष्टि परेमा अस्मिताको कथा यात्राको प्रतिनिधि पात्रमा मात्र सीमित नभई एउटा सशक्त नारीप्रधान कथा पनि बन्न सक्छ ।

मुक्तकण्ठले प्रशंसा

पदयात्रामा जान चाहने र तयारी गर्दै गरेकाहरूलाई यो पुस्तक निकै उपयोगी साबित हुनेछ । लेखकका अन्य पुस्तक पनि पढ्न पाइयोस् । पदम बा दीर्घायु रहून्, अस्मिताको उनको पतिसँग पुनर्मिलन होस् !

पुस्तकमा सुरुदेखि अन्तिमसम्म स्थानविशेषको सूक्ष्म चित्रण गरिएको छ । हामीलाई साधारण लाग्ने धानखेत, मकैबारी, विद्यालय, खोलाखोल्सी वा बारी अन्यत्र कहीं छैन र यहीं मात्र छ जस्तो गरेर वर्णन गर्ने कौशलले पाठकमा अब यसपछि के होला भन्ने कौतूहल जगाउँछ । ठाउँ र प्रसंगपिच्छे सान्दर्भिक र सुन्दर कविताका पंक्तिहरू दिइएका छन् जसले यात्रा वृत्तान्तलाई काव्यात्मक बनाएको छ ।

पानीको रंग बदलिरहने शे-फोक्सुन्डो तालको अद्भुत सुन्दरतालाई लेखकले मनोरम शैलीमा वर्णन गरेकी छन्; मुग्ध यात्रामा आजै टिकट काटेर हिंडिहालौं जसरी । यात्रामा घुमेका महत्वपूर्ण ठाउँको ऐतिहासिक र सांस्कृतिक पाटोलाई पनि केलाइएको छ । चाहे त्यो मुसिबज्यैको मुसिकोट होस् वा फोक्सुन्डो तालका राक्षसी बुढीको पानी पोखिएर बनेको तालको कथा । चाहे भैरवकुण्डको नामले पनि चिनिने प्रसंग होस् वा नौ थान पुतली कसरी नौ देवीको रूपमा स्थापित भए भन्ने प्रसंग ।

हिमाली पदयात्राको सबैभन्दा रोचक विशेषता भनेको कहिले एकजना व्यक्तिले सिंगो होटलमा ढलिमली गर्न पाइने । कहिले पर्यटकको घुइँचोले एउटै कोठामा ६–७ जना कोचाकोच गरेर पनि बस्नुपर्ने । अझ कहिले त भान्सामा समेत ठाउँ नपाएर टाउको मात्र घुसाएर रात काट्नुपर्ने ! यस्ता रोचक प्रसंगहरू ठाउँठाउँमा आएका छन् ।

छेप्कामा भएको भिडभाड र त्यहाँका साहु साहुनीले आएका पाहुनालाई फिर्ता गर्नुहुँदैन भनी देखाएको सद्भावले पाठकको हृदयलाई स्पर्श गर्छ । अतिथिलाई देउता मान्ने हिमाली बासिन्दाको विशेषता नै हो ।

प्रेमसद्भावसम्मान  आक्रोश

नयाँ जिल्ला प्रवेश गर्नासाथ यतिऔं जिल्लामा स्पर्श गरेको भन्दै स्मरण गर्दै प्रमाण पेश गर्ने व्यवहारले पृथ्वीप्रतिको प्रेम दर्शाउँछ । धेरै स्थानमा यात्रामा अल्लारे केटाकेटी देख्दा वा विद्यालय जाने विद्यार्थीहरू देख्दा मातृत्व झल्केको कुरा लेखिएको छ । यसले एउटा आमा जहाँ गए पनि आमाको भूमिकामा नै हुन्छिन् भन्ने मान्यता स्थापित गर्दछ । आफ्नो जन्मभूमि उदयपुर नेपालटारलाई एक होइन, अनेक पटक सम्झिएकी छन् । ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी’ भन्ने भाव प्रबल भएको पाउँछन्, पाठकहरू ।

राजनैतिक दलका नेताको आचरण वा पार्टीप्रति बीचबीचमा नजानिंदो असन्तुष्टि र आक्रोश पनि देखिन्छ । साथै यात्राको क्रममा देखिएका विसंगतिहरूले पनि लेखकलाई दिक्क बनाउँछ । सबै सहयोगी मन र हातहरूप्रति लेखकमा कृतज्ञभाव देखिन्छ । सबैलाई पटक–पटक सप्रेम धन्यवाद दिएकी छन् ।

यात्रामा प्रायः हरेक जिल्लामा आफूसँग सम्पर्कमा रहेका साथीभाइ भेट्ने, फोन गर्ने, हालचाल सोध्ने लेखकको स्वभावले सबैसँग घुलमिल हुनसक्ने क्षमता भएको देखिन्छ । यस्ता क्षमता हरकोहीसँग हुँदैन । अधिकांशमा त यात्रा यात्रा नै हो, यसमा अन्यलाई सहभागी गराउनुहुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।

केही खसखस

पुस्तक पढेपछि मनमा लागेको एउटा खसखस, यात्रा साहित्यमा यति धेरै साहित्यिक व्याख्या आवश्यक पर्ला र ? यो किताबमा यात्रा त छँदैछ, साहित्यिक पाटो र व्याख्याका अनेक प्रसंगहरू पनि छन् । एक पत्र निकाल्यो, त्यससँग गाँसिएर आउने अर्को प्रसंग पनि छ । मानौं, यी प्याजका कहिल्यै नसकिने पत्रहरू हुन् । बाहिरी पत्र निकाल्दै गयो, भित्र अनेकौं पत्रहरू खुल्दै जाने ।

म चाहिं खाना अलिक सादा नै मन पराउने भएकोले, पुस्तकमा साहित्यिक खुराक वा मसला थोरै बढी भयो कि ? पुस्तक मिठो मात्र होइन निकै मिठो छ तर मासु वा तरकारीमा मसला अलिकति बढी भए जस्तो !

पदयात्रामा जान चाहने र तयारी गर्दै गरेकाहरूलाई यो पुस्तक निकै उपयोगी साबित हुनेछ । लेखकका अन्य पुस्तक पनि पढ्न पाइयोस् । पदम बा दीर्घायु रहून्, अस्मिताको उनको पतिसँग पुनर्मिलन होस् !

Picture of खुल्ला पत्रिका

खुल्ला पत्रिका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।